देहरादूनको गढी क्यान्टस्थित नवनिर्मित पार्कमा आजाद हिन्द फौजका स्वतन्त्रता सेनानी शहीद क्याप्टेन दलबहादुर थापाको सालिक अनावरण गरिएको छ। कार्यक्रममा विभिन्न वीर माता, वीर नारी, पूर्व सैनिक तथा समाजसेवीहरूलाई सम्मान गरिएको थियो। यस अवसरमा उत्तराखण्डका क्याबिनेट मन्त्री गणेश जोशीले ‘शहीद क्याप्टेन दलबहादुर थापा द्वार’ शीघ्र निर्माण गरिने घोषणा गरेका छन्।
- नेताजी सुभाषचन्द्र बोसका सहयोद्धा शहीद दलबहादुर थापालाई श्रद्धाञ्जली
- वीर माता, वीर नारी तथा पूर्व सैनिकहरू सम्मानित
- विद्यार्थीद्वारा कविता वाचन र देशभक्ति गीत प्रस्तुति
- क्याबिनेट मन्त्री गणेश जोशीद्वारा शहीद द्वार निर्माणको घोषणा
देहरादून। उत्तराखण्ड राज्य नेपाली भाषा समिति तथा विभिन्न सहयोगी संस्थाहरूको संयुक्त आयोजनामा आजाद हिन्द फौजका स्वतन्त्रता सेनानी शहीद क्याप्टेन दलबहादुर थापाको सालिक अनावरण तथा श्रद्धाञ्जली कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम देहरादूनको शेरबाग रोडस्थित नवनिर्मित पार्क (डीडी कलेज अगाडि), गढी क्यान्टमा आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि द हंस फाउन्डेसनका संस्थापक भोलेजी महाराज, विशिष्ट अतिथि उत्तराखण्ड सरकारका क्याबिनेट मन्त्री गणेश जोशी, गोर्खाली सुधार सभाका अध्यक्ष पदमसिंह थापा तथा नेपाली भाषा समितिका अध्यक्ष मधुसूदन शर्माले संयुक्त रूपमा शहीद क्याप्टेन दलबहादुर थापाको सालिक अनावरण गरेका थिए। अतिथिहरूले दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। समितिका अध्यक्ष मधुसूदन शर्माले शहीद क्याप्टेन दलबहादुर थापाको योगदानबारे जानकारी गराउँदै उनले भारतको स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। नेताजी सुभाषचन्द्र बोसको नेतृत्वमा आजाद हिन्द फौजको एक टुकडीको नेतृत्व गर्दै बर्मा–कोहिमा सीमामा साहसिक युद्ध लडेका थापा सन् १९४४ जुन २८ मा अंग्रेजहरूको नियन्त्रणमा परेका थिए। देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाइएका उनले सन् १९४५ मे ३ मा हाँसीखुसी फाँसी स्वीकार गर्दै मातृभूमिको स्वतन्त्रताका लागि सर्वोच्च बलिदान दिएका थिए। उनको अदम्य साहसबाट प्रभावित भएर नेताजीले उनलाई ‘क्याप्टेन’ पदबाट सम्मानित गरेका थिए। समितिका महासचिव श्याम रानाले संस्थाका गतिविधि तथा उपलब्धिहरूबारे प्रकाश पारे। समितिकी मिडिया प्रभारी प्रभा शाहका अनुसार कार्यक्रममा वीर माता, वीर नारी, पूर्व सैनिक तथा समाजसेवीहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा वीर माता सीता थापा (शहीद नीरज थापाकी माता), वीर नारी सुनीता लामा (स्व. नायक वीरेन्द्र लामाकी धर्मपत्नी), ८९ वर्षीय क्याप्टेन ज्ञानसिंह गुरुङ, सुबेदार अशोक थापा, हवल्दार जंगबहादुर राना, वरिष्ठ समाजसेवी दिलकुमारी थापा तथा दिलबहादुर घले रहेका छन्।
यसका साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने विभिन्न संघ–संस्थाका पदाधिकारी तथा युवा स्वयंसेवकहरूलाई पनि सम्मान तथा स्मृति चिन्ह प्रदान गरिएको थियो। श्रद्धाञ्जली सभामा विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पूर्व सैनिक, महिला तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयका विद्यार्थीहरूले कविता वाचन गरेका थिए भने देविन शाही, प्रदीप राई, सुनीता क्षेत्री, पुष्पा भण्डारी, रश्मि खोयाल र सुरेश राईले देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन पूजा सुब्बा चन्दले गरेकी थिइन्। यस अवसरमा क्याबिनेट मन्त्री गणेश जोशीले शहीद क्याप्टेन दलबहादुर थापाको सम्झनामा ‘शहीद क्याप्टेन दलबहादुर थापा द्वार’ को निर्माण शीघ्र गरिने घोषणा गरेका थिए। कार्यक्रममा इन्जिनियर मेघबहादुर थापा, बालकृष्ण बराल, आनन्द थापा, राजेन्द्र मल्ल, ओपी गुरुङ, सञ्जय थापा, अशोक वल्लभ शर्मा, महेश भूषाल, कर्नेल डीएस खड्का, कर्नेल डीबी थापा, गोर्खाली सुधार सभाका शाखा अध्यक्षहरू, पुष्पा क्षेत्री, विनिता खत्री, माया पँवार, सीता शर्मा, अनिता घले, रीता विशाल, पीएन राई, सीके राई, ज्योति कोटिया, निर्मला थापा, वन्दना बिष्ट, सपना मल्ल, पिया थापा लगायतका विशिष्ट व्यक्तित्व, मातृशक्ति तथा युवाहरूको उपस्थिति रहेको थियो।
