नेपालका विदेशमन्त्री शिशिर खनाल भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। भ्रमणमा ऊर्जा व्यापार, कनेक्टिभिटी, सीमा विवाद तथा नेपाल–भारत सम्बन्धका विविध पक्षमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ।
नयाँ दिल्ली। नेपालका विदेशमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्। नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा सुरक्षा सहकार्यलगायत विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा विदेशमन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुन सक्ने चर्चा छ। दिल्लीमा उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालसँग भेट गरी नेपाल–भारत सुरक्षा सहकार्यका विविध विषयमा छलफल गरेका छन्। दिल्ली प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले नेपाल–भारत सम्बन्धका सबै पक्षमा खुला रूपमा छलफल हुने बताए। सीमा विवादको विषय उठ्ने वा नउठ्नेबारे सोधिएको प्रश्नमा उनले नेपालको प्राथमिकतामा रहेका सबै विषयमा संवाद हुने प्रतिक्रिया दिएका थिए। नेपालको परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनु हो। विदेशमन्त्रीका रूपमा खनालको यो पहिलो भारत भ्रमण हो। यसअघि उनले हिन्द महासागर सम्मेलनका क्रममा जयशंकरसँग भेटवार्ता गरेका थिए।
भ्रमणका क्रममा लिपुलेक नाका हुँदै पुनः सुरु गरिएको कैलाश–मानसरोवर यात्राको विषय पनि उठ्न सक्ने अनुमान गरिएको छ। नेपालले उक्त क्षेत्रमा आफ्नो दाबी कायम राख्दै आएको छ। ऊर्जा सहकार्य पनि भ्रमणको प्रमुख एजेन्डामध्ये एक रहेको छ। नेपालले आफ्नो जलविद्युत उत्पादन भारतले थप मात्रामा खरिद गरोस् र बंगलादेशलगायत तेस्रो मुलुकसम्म विद्युत निर्यातका लागि भारतीय ट्रान्समिसन ग्रिड प्रयोगको दायरा विस्तार गरोस् भन्ने चाहना राखेको छ। त्यसैगरी जयनगर–कुर्था रेलमार्ग विस्तार, सीमा क्षेत्रमा नयाँ पुल निर्माण, डिजिटल भुक्तानी प्रणालीको एकीकरण तथा एकीकृत जाँच चौकी (ICP) निर्माण कार्यलाई तीव्रता दिने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ। दुवै देशबीच लामो समयदेखि विचाराधीन रहेका विभिन्न पूर्वाधार, कनेक्टिभिटी तथा द्विपक्षीय चासोका विषयमा समेत भ्रमणका क्रममा विस्तृत वार्ता हुने बताइएको छ।