भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले म्यानमारका राष्ट्रपति मिन आङ ह्लाइङसँग सीमा सुरक्षा, शरणार्थी आवागमन तथा उग्रवादी गतिविधिबारे गम्भीर छलफल गरेका छन्। भारतले सीमावर्ती क्षेत्रमा सक्रिय सशस्त्र समूहहरूको गतिविधिले सुरक्षा चुनौती बढाएको जनाएको छ। दुवै देशले सीमा व्यवस्थापन, व्यापार तथा सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने सहमति गरेका छन्।
- मोदी–मिन आङ ह्लाइङबीच सुरक्षा केन्द्रित वार्ता
- सीमावर्ती क्षेत्रमा उग्रवादी गतिविधिप्रति चिन्ता
- शरणार्थी व्यवस्थापनमा सहकार्य बढाइने
- व्यापार, ऊर्जा र साइबर सुरक्षामा जोड
नयाँ दिल्ली। भारत र म्यानमारबीच द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा सोमबार नयाँ दिल्लीमा उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। वार्ताका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले म्यानमारका राष्ट्रपति मिन आङ ह्लाइङ सँग सीमा सुरक्षा, शरणार्थी आवागमन तथा सीमावर्ती क्षेत्रमा सक्रिय सशस्त्र समूहहरूको गतिविधिबारे गम्भीर छलफल गरेका छन्। भारतको विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले भारत–म्यानमार सीमाक्षेत्रमा सक्रिय उग्रवादी तथा सशस्त्र संगठनहरूको गतिविधिले भारतका सीमावर्ती राज्य र स्थानीय समुदायको सुरक्षामा असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले सीमा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन, अवैध गतिविधिमाथि नियन्त्रण गर्न तथा शरणार्थीसम्बन्धी विषयमा आपसी समन्वय बढाउनुपर्नेमा जोड दिएका छन्।भेटवार्तामा म्यानमारमा रहेका भारतीय नागरिकहरूको सुरक्षा र हित संरक्षणको विषय पनि उठाइएको थियो। दुवै देशले सम्पर्क पूर्वाधार परियोजना, व्यापार, ऊर्जा, महत्वपूर्ण खनिज स्रोत तथा प्राविधिक हकार्यलाई अगाडि बढाउने सहमति जनाएका छन्। साथै साइबर अपराध, मानव तस्करी तथा अनलाइन ठगी सञ्जालविरुद्ध संयुक्त अभियान सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ। म्यानमार राजनीतिक अस्थिरता र आन्तरिक द्वन्द्वबाट गुज्रिरहेको अवस्थामा भएको यो भेटलाई क्षेत्रीय सुरक्षा तथा स्थायित्वका दृष्टिले महत्वपूर्ण मानिएको छ। भारतले छिमेकी राष्ट्रहरूसँग संवाद र सहकार्यको नीति निरन्तर जारी राख्ने स्पष्ट गर्दै क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरता दुवै देशको साझा हित रहेको जनाएको छ।
