देहरादून । बलभद्र खलंगा विकास समितिले आफ्नो ५२औँ स्थापना दिवस नालापानीस्थित रुद्रेश्वर महादेव मन्दिरमा पूजा–अर्चना गर्दै मनाएको छ। खलंगा युद्ध, जसलाई इतिहासमा सन् १८१४–१८१६ को आङ्ग्ल–गोर्खा युद्धका रूपमा चिनिन्छ, हाम्रो वीर–वीराङ्गनाहरूको बहादुरीको प्रतीक हो। आगामी पुस्ताले पनि यस गौरवशाली इतिहासबारे जानकारी पाउन सकून् भन्ने उद्देश्यले देहरादूनका बुद्धिजीवीहरूले १२ मे १९७४ मा श्री १०८ महन्त पूर्णानन्द गिरि महाराजको अध्यक्षतामा “बलभद्र खलंगा विकास समिति” गठन गरेका थिए। त्यस अवसरमा स्वर्गीय महाराज कुमार नरेन्द्र शमशेर जंगबहादुर राणालाई अध्यक्ष तथा टिहरीकी राजमाता कमलेन्द्र शाहलाई संरक्षिका नियुक्त गरिएको थियो।
समिति सचिव प्रभा शाहले जानकारी दिनु भयो कि १६ मार्च १९७५ मा सागरतालमा पहिलो खलंगा मेलाको आयोजना गरिएको थियो। त्यसयता प्रत्येक वर्ष भव्य रूपमा मेला आयोजना गर्दै वीरताको प्रतीक यस स्थलको महत्वबारे जनमानसलाई जानकारी गराउने कार्य समितिले निरन्तर गर्दै आएको छ। १६ अक्टोबर २००६ मा समिति आधिकारिक रूपमा दर्ता भएको थियो। समितिका वर्तमान अध्यक्ष कर्नेल विक्रम सिंह थापा ले समितिको अथक प्रयासबाट नालापानीमा बलभद्र खलंगा द्वार निर्माण, वन विभागबाट भूमि हस्तान्तरण गराई “बलभद्र खलंगा युद्ध स्मारक” निर्माण तथा पक्की सडक निर्माण गरिएको जानकारी दिए। साथै, इको–टुरिज्म विकास कार्यक्रमअन्तर्गत सागरताल क्षेत्रमा केही निर्माण कार्य सम्पन्न गरिएको र सर्भे अफ इन्डियाद्वारा खलंगा युद्ध क्षेत्रको नयाँ नक्सा प्रकाशित गरिएको पनि उनले बताए। समितिलाई उपलब्ध गराइएको जमिनमा कार्यालय भवन समेत निर्माण भइसकेको छ।
समितिकी सचिव प्रभा शाह ले आजको कार्यक्रम खलंगा युद्ध स्मारक नालापानीमा पुष्पचक्र अर्पण गर्दै वीर–वीराङ्गनाप्रति श्रद्धाञ्जली अर्पण गरेर सुरु गरिएको जानकारी दिइन्। समितिका अध्यक्ष कर्नेल विक्रम सिंह थापा तथा पदाधिकारीहरूले स्मारकमा श्रद्धासुमन अर्पण गरेका थिए। पण्डित कृष्णप्रसाद पन्थीले रुद्रेश्वर महादेव मन्दिरमा विधिपूर्वक पूजा–अर्चना तथा हवन सम्पन्न गराए भने रायपुर कीर्तन समितिले भजन–कीर्तन प्रस्तुत गरेको थियो। यस अवसरमा समितिका अध्यक्षले सबैलाई स्थापना दिवसको शुभकामना व्यक्त गरे। उपाध्यक्ष विनय गुरुङ ले समारोहमा उपस्थित अतिथिहरूप्रति आभार व्यक्त गरे। कार्यक्रममा समितिले आचार्य भरत गिरि महाराज, आचार्य आलोक गिरि महाराज तथा पार्षद सोमेन्द्र सुशान्त बोहरा लाई सम्मान समेत गरेको थियो। कार्यक्रममा गोर्खाली सुधार सभा का अध्यक्ष पदम सिंह थापा, समितिका संरक्षक इन्द्रेश उपाध्याय (पूर्व डीएफओ), पूर्व अध्यक्ष कर्नेल डीएस खड्का, कर्नेल एमबी राना, दीपक कुमार बोहरा, कोषाध्यक्ष महेश भूषाल, सह–सचिव केबी कार्की, संगठन सचिव सुरेश गुरुङ, सह–सचिव संजय थापा, शशिकान्त शाही, जितेन्द्र खत्री, कुशल बोहरा, अनिल थापा, अशोक वल्लभ शर्मा, सूरज थापा, डम्मर थापा, सुनीता गुरुङ लगायत अन्य सदस्य, मातृशक्ति तथा युवाहरूको उपस्थिति रहेको थियो।
