देहरादून। गोर्खाली सुधार सभाका अध्यक्ष पदम सिंह थापा, प्रदेश भाजपा गोर्खा प्रकोष्ठका संयोजक अभिषेक शाही, विधायक उमेश शर्मा काऊ तथा गोर्खा समाजका प्रतिनिधिमण्डलले पुष्कर सिंह धामीसँग शिष्टाचार भेट गरेका छन्। भेटवार्ताका क्रममा गोर्खा समाजका समसामयिक विषयहरू सम्बन्धी मुख्यमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाइएको थियो। ज्ञापनपत्रमा विशेष रूपमा निम्न तीन मागहरू प्रस्तुत गरिएको थियो.
- स्थायी गोर्खा कल्याण परिषद् गठन गरियोस्।
- गोर्खा समुदायबाट पिछडा वर्ग आयोगमा उपाध्यक्ष तथा गो कल्याण परिषद्मा अध्यक्ष एवं उपाध्यक्षको शीघ्र नियुक्ति गरियोस्।
- महिला आयोग, बाल विकास आयोग, पिछडा वर्ग आयोग, गोर्खा कल्याण परिषद् तथा अन्य नीति निर्माण तथा सिफारिस समितिहरूमा गोर्खा बुद्धिजीवीहरूको नियुक्ति गरियोस्।
यी विषयहरूलाई गम्भीरतापूर्वक संज्ञानमा लिँदै मुख्यमन्त्रीले चाँडै समाधान गरिने आश्वासन दिएका छन्।
प्रतिनिधिमण्डलमा गोर्खाली सुधार सभाका अध्यक्ष पदम सिंह थापा, भाजपा गोर्खा प्रकोष्ठका प्रदेश संयोजक अभिषेक शाही, ब्राह्मण महासभा समितिका पण्डित थानेश्वर उपाध्याय, शहीद दुर्गा मल्ल ट्रस्टकी अध्यक्षा कमला थापा, गोर्खाली महिला हरितालिका तीज समितिकी अध्यक्षा प्रभा शाह, गोर्खाली सुधार सभाका महामन्त्री गोपाल क्षेत्री, खलंगा विकास समितिका संरक्षक तथा पूर्व डीएफओ इन्द्रेश उपाध्याय, पूर्व महाप्रबन्धक जलविद्युत परियोजना निगम इन्जिनियर मेघबहादुर थापा, जीएमआईसी अध्यक्ष कर्णेल डीबी थापा, राई समाजका अध्यक्ष पीएन राई, शाखा अध्यक्ष सुशील भण्डारी तथा वरिष्ठ पार्षद नन्दिनी शर्मा लगायतका व्यक्तिहरू उपस्थित थिए।
